नेपालबाट ‘डिपोर्ट’ हुने विदेशीको सूचीमा चिनियाँ धेरै
https://www.datawrapper.de/_/qhZSO/
https://www.datawrapper.de/_/acsAc/
नेपालबाट ‘डिपोर्ट’ हुने विदेशी नागरिकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२२ को जनवरीयता मात्रा ५ सय ७० जना विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन् । समय समयमा नेपाली नागरिकहरू तेस्रो मुलुकहरूबाट डिपोर्ट भएर स्वदेश फिर्ता हुने गरेका छन् । यद्यपि नेपालमा आउने विदेशी नागरिकहरू पनि उसैगरी डिपोर्ट हुने गरेका छन् । विशेष गरी ‘ओभर स्टे’ अर्थात् भिसा अवधिभन्दा लामो समय नेपाल बस्नेदेखि लिएर विभिन्न अपराध, लागू पदार्थ दुर्व्यसन जस्ता कारणले विदेशी नागरिक डिपोर्ट हुने गरेको अध्यागमन विभागका प्रवक्ता खिमराज भुसालले बताए ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी डिपोर्टमा पर्नेमा भिसा म्याद सकिएर बसेकाहरूको सङ्ख्या रहेको छ । सन् २०२२ जनवरीबाट अहिलेसम्मको तथ्याङ्कमा भिसा म्याद सकिएर डिपोर्ट हुनेको सङ्ख्या ५३४ रहेको छ । त्यसैगरी अध्यागमन अपराधमा परेर डिपोर्ट हुनेको सङ्ख्या ११, लागू पदार्थ दुर्व्यसनका कारण पाँच, वैदेशिक मुद्रा अपचलनमा चार, हत्या प्रयासमा तीन, राजस्व चुहावटमा तीन, बैङ्किङ कसुर तथा फ्रडमा दुई दुई जना तथा मानव बेचबिखन, अपहरण, मनी लन्ड्रिङ, साङ्गठनिक अपराध, यौन अपराध र सन्दिग्ध आचरणका कारण एक एक गरी कुल ५७० जना विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन् ।
विगत सात वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी विदेशी नागरिक सन् २०१८ मा डिपोर्ट भएका छन् । उक्त वर्ष ६७८ जना डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा ५५९, सन् २०१९ मा ६७१, सन् २०२० मा ३३२, सन् २०२१ मा ३०८ जना डिपोर्ट भएका छन् । यो सङ्ख्या सन् २०२२ मा आउँदा बढेर ५७० पुगेको छ ।
नेपालबाट यसरी डिपोर्ट हुनेको तथ्याङ्क हेर्दा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । त्यसपछि क्रमशः अमेरिका, बेलायत, फ्रान्स, पाकिस्तान, दक्षिण कोरिया र क्यानडाका नागरिक छन् ।
Comments
Post a Comment